छन्द कविता
छन्द कविता
कविता
टाढा पुगेँ भाव लिएर आएँ
नजीकका शब्दहरू समाएँ ।
अनर्थ छन् शब्द, कठोर भाव
लेखूँ नलेखूँ दिनुहोस् सुझाव ।।
संयोगका छन् कविता नयाँ-नयाँ
वियोगका छन् कविता कयौँ यहाँ ।।
सम्बन्ध जोडेँ कविता फुरेन
तोडेर रोएँ, कविता जुरेन ।।
देख्दैछु आकाश म खुम्चिएको
हराभरा छैन धरा कसैको ।
देखेर लेखूँ कि त्यसै म लेखूँ,
देख्दै नदेखी कसरी म लेखूँ ?
म चन्द्र हेर्दा किन देख्छु दाग ?
डुल्दा बगैँचा किन झन् विराग ?
बेरङ्ग छन् झिल्मिल ती सितारा
म शुष्क हूँ या रसहीन सारा ।।
रुँदा तिमी, रुन्छु, म हाँस्छु, हाँस्दा
सधैँ खुसी हुन्छु म प्रेम बाँड्दा ।
म हूँ कि काँडा मरुभूमिबीच
या तीक्ष्ण काँडा म गुलाबबीच ।।
ए शब्द! आओ कविता बनेर
ए भाव! आओ सरिता बनेर ।
भरेर सङ्गीत म गुन्गुनाऊँ
तिर्खालुलाई कविता पिलाऊँ ।।
-प्रवीण काफ्ले
Like
Dislike
Love
Sad
Funny
Wow
Pray
Comments 0