कविता शून्य नयन
कविता शून्य नयन
मैले बाँचेकाे छु उदास रातहरू...!
मैले बाँचेकाे छु उदास रातहरू
म भनिदिन सक्छु !
-घाम सुदूरकाे डाँडामा लुक्ने बित्तिकै ,
कुन पीडाले छट्पटिएर गीत गाउन सुरु गर्छ झ्याउकिरी
-याे निष्पट्ट अन्धकारमा ,
कुन आशकाे उज्यालाे खाेज्न बत्ती बाल्दै नाच्छ जुनकिरी
-बनाएर ठूला ठूला आँखा
कुन विगत मेट्टाउन उडिरहन्छ लाटाेकाेसेराे रातभर
आऊ , साेध मलाई ,
-कुन कारणले रातमा फुलेर रातमै झर्छ पारिजातकाे फूल
-कुन हिनताबाेधले गर्दा जुन क्रमश: उज्यालिदैँ-अध्यारिदैँ गर्छ रातहरूमा
याे बिहानमा देखिने,
पातहरुमा शितकाे थाेपा कहाँबाट आईपुग्छ
म भनिदिन सक्छु
किनकी ,
मैले बाँचेकाे छु उदास रातहरू...
आजकल ,
म आफ्नै विवशताकाे दुई-चार थाेपा आँसु पिउछुँ
उजाड-उजाड हुन्छु,
उदास-उदास हुन्छु
कतै ठडिएकाे तर उपेक्षित भएकाे मूर्ति जस्ताे
जिन्दगीबाहेककाे फगत् "जिन्दगी" जिउछुँ
कतै टाढाबाट आएकाे बतासले छुन्छ
अनि तिमीले गरेकाे न्यानाे अङ्गालाे सम्झन्छु
देउरालीमा तिम्राे निम्ति चढाएकाे फुलहरुमा अझै अल्झन्छु
हेर्दा हेर्दै आकाशबाट एउटा तारा खस्छ
यथार्थमा फर्कन्छु र झस्कन्छु...
यसरी मैले हररात,
थप एक सर्काे सास आफैँलाई बर्बाद गरिरहन्छु
आऊ , साेध मलाई ,
याे रातहरुले मानिसको मुकुन्डाेकाे छाया कहाँ लुकाउछ !
मध्यरात बाह्र बजे कुराहरूले कुन अधुराे कथा सुनाउछ !
आऊ , साेध मलाई ,
म भनिदिन सक्छु
किनकी
आफैँलाई आफुभन्दा धेरै टाढा राखेर
मैले बाँचेकाे छु उदास रातहरु...।।
- शून्य नयन
Like
Dislike
Love
Angry
Sad
Funny
Wow
Comments 0