April 19, 2026

जिब्रो | कविता | शार्दूलविक्रिडित | कवि हरिप्रसाद घिमिरे

August 29, 2025
1Min Read
378 Views

कवि हरिप्रसाद घिमिरे

जिब्रो

कवि हरिप्रसाद घिमिरे

छन्द- शार्दूलविक्रिडित्

जिब्रो हो तरबार एक खुकुरी ज्यूँदाहरू मार्दछ

जिब्रो सभ्य भएन त्यो यदिभने सङ्कष्टमा पार्दछ ।

खाँदा खान्छ मीठो असाध्य नमिठो खाँदै नखाने पनि

हाम्रा अङ्ग सबै समान तर छन् जिब्रो सबैको धनी ।।


राजा रङ्क बनाउने छ यसले त्यो रङ्क राजा पनि

मागे मिल्छ अनेक दौलत यहाँ मिष्टान्न खाजा पनि ।

द्यौतातुल्य बनाउनेछ रसना बन्छन् कुनै राक्षस

जिब्रोमा छ मिठास दिव्यगुनिलो देखिन्छ गुन्जायस ।।


जिब्रो शिक्षकको र डाक्टर हुने मीठो हुनै पर्दछ

मान्छेका व्यवधान कष्ट सब ती जिब्रो उहीँ टार्दछ ।

जिब्रोको अधिकार जान्दछ उही जाँदैन नाघी घर

जिब्रोको डर लाग्छ छैन जनको लाग्दैन केही डर ।।


जिब्रोले इतिहास खोल्छ जनले खोल्छन् भविष्यै पनि

जिब्रोले मन खाग पार्दछ अहो! आगो बली दन्दनी ।

ज्ञानी ज्ञान सिकाउँछन् भुवनमा भाषा मिठासी झिकी

जिब्रोले जनले कुटेर मसिनो पार्ने सहारा ढिकी ।।


जिब्रो बत्तिस दन्तका विच बसी रक्षा उही गर्दछ

जिब्रोको उपयोगले बखतमा त्यो मृत्यु नै टार्दछ ।

जिब्रोबाट सिकेर बोल दुनियाँ हाम्रो उही हो गुरु

जिब्रोको उपयोग योग्य नहुँदा होला लडाईँ सुरु ॥

Leave a Comment
logo-img Basistha

All Rights Reserved © 2026 Basistha