मलाई "नथिया" आफैमा कथा भरिएको एउटा साङ्केतिक शब्द जस्तै लाग्छ। सानो हुँदा चुलेसीको टुप्पोमा छेडिएको रिङ्ग र घरछेउको बुढी आमाले नाकमा लगाउने नथिया र बुलाकीले यसै पनि आकर्षित गरेकै थियो । जब सरस्वती प्रतीक्षाको 'नथिया' पुस्तक प्रकाशित भएर स्कुलको पुस्तक पसलमा देखेकी थिएँ, तब म कोर्षको बाहेक खासै पुस्तक त पढ्थिँन तर पनि कुनैदिन यो पुस्तक किनेर पक्कै पढ्नेछु भन्ने सोच बनाइसकेकी थिएँ।यस वर्ष समय अनुकुल बन्यो र शपिङ्गको लिस्टमा मैले नथियालाई पनि समेटेँ।
सामान्यतया हामीले गहनाको रुपमा मात्र लिइने नथियाले बादी समुदायमा रहेको नमिठो सत्यलाई बोकेर हिडेको छ। बादी बस्तीमा महिनावारी भइसकेपछी युवतीलाई नथिया लगाइदिने र ग्राहकसङ्गको पहिलो संसर्गमा जुन ग्राहकले सबैभन्दा बढी पैसा र उपहारहरु दिन्छ, उसैबाट नथिया उतार्ने चलन रहेको छ। यसरी नथिया उतारीसकेपछी एक युवती धन्दामा लाग्न सुरु गर्छे।
सृष्टिको आरम्भदेखि नै नारीलाई धर्मपत्नी र गणिका वा वेश्याको रुपमा दुई वर्गमा बाडिएको देखिन्छ। देवलोक र मनुष्यलोकको प्राचिनतम संस्कृतिमा धर्मपत्नीको अतिरिक्त भित्रेनी, उपपत्नी, रखैलको नाममा बेश्यावृतिलाई प्रथा जसरी अगाडी बढाइएको देखिन्छ। गोष्ठी, सभा जस्ता सभ्य सुनिने कार्यक्रमहरु समेत उहीँ बेश्या र गणिकाहरुको आनन्द लुट्न चाहनेहरुलाई छुट गराइएको कुराबाट प्रचलनमा आएको मानिन्छ। त्यससङ्गै किम्बदन्तीको आधारमा स्वर्गका अप्सराहरु यस लोकमा बसेर नाचगान, हाउभाउ र मैथुनादी मनोरञ्जन प्रदान गर्ने र उनै अप्सराहरु कालान्तरमा "वादी" जातिको रुपमा परिणत भएको विश्वास गरिन्छ।
यस्तै कालान्तरमा जन्मिएकी अप्सरा सामली वादीलाई प्रमुख पात्र बनाएर सम्पूर्ण वादी समुदायका नारीहरुले भोग्नुपर्ने यथार्थलाई यस उपन्यासमा समेटिएको छ। सामलीको आफ्नै नाम हुँदाहुँदै पनि अप्सरा, मोहिनी जस्ता अनेक उपनामले उसको आफ्नै नाममाथी प्रश्न उठाएको छ।
एकदिन अभागीको पनि दिन आउँछ भनेझैं नाम र रुपमा जमिन आशमानको जस्तै भिन्नताको कारण कसैले पनि नहेर्ने कुरुपको दर्जामा उभिएकी चन्द्रिकाकी चन्द्रमा जस्तै बलेकी ,गोरी र बिछट्टै राम्री छोरीको रुपमा सामलीको जन्म भएको छ। केही समयपछि सामलीलाई भाइ जन्मिन्छ। ऊ बादी समुदायमा जन्मिएको छोरो भएकै कारण वंशको पेसालाई अगाडी लैजान नसक्ने हुँदा ऊ सबैकुरामा दोस्रो नम्बरमा आउँछ। यसै कारणले पनि ऊ आफ्नी दिदिसङ्ग सार्है रिसाउँछ।
नारीहरु यसैपनी गहना र श्रृङ्गारले मक्ख पर्ने स्वभावका हुन्छन्। त्यसतै सामलीलाई आफूले लगाएको नथिया सार्है मनपर्छ।त्यसैले त्यसलाई कहिले नउतार्ने कुरासङ्गै उसले धन्दा नगर्ने कुराको आशय देखाएकी छे। ठुलाबढाको घरमा रमाइला कार्यक्रम हुँदा बदिनीहरुलाई नाँच्न बोलाइन्छ। रत्नमानको बिहेमा सामलीले पनि नाँच्ने अवसर पाउछे। त्यसदिन ऊ बेहुलाको बाबू, बेहुला लगायत धेरै पुरुषहरुको नजरमा पर्छे र उसलाई उसकै बस्तीमा उसलाई छिट्टै भेट्न आउने कुराहरू सुन्छे। उसले नथिया नउतार्ने भनेपछी गरिखाने बाटो हराउने डरले उसका परिवारले त्यही बेहुलाको बाबुले प्रदान गरेको ठूलाे रकमको मोहमा अनेक चाजोपाजो मिलाएर पहिलो संसर्गको लागि सामलीलाई उसकाे इक्ष्या विपरीत तयार गरिदिन्छ्न्। पहिलाे संसर्ग लगत्तै ऊ बिरामी हुन्छे तरपनी ग्राहकको अनेक धम्काइ सहित भेट्ने जिद बढेकोले उसका बाबुआमाले उसलाई त्यो ठाउँबाट नै टाढा लिएर जान्छन् । केही समयपश्चात घर फर्किएपछि घर व्यवहार सबै उसकै शिरमाथी आइलाग्छ। ऊ धन्दामा लाग्न बाध्य हुन्छे। यसरी धन्दामा लाग्दै गर्दा उसले हरेक ग्राहकबाट समाजमा रहेका अनेक यथार्थलाई आफ्नै आँखाले नियाल्ने मौका पाउछे। "नथिया" व्यापारमा नदेखिने उनै ग्राहकहरुको पनि कथा हो।
राम्रोसँग धन्दा चलिरहेको समयमा उसले अरूसँग धन्दा गरेको नरुचाउने तर उसको उन्नति भएको देख्न चाहने रेञ्जर सङ्ग ऊ बिबाहबन्धनमा बाधिन पुग्छे। संसर्गलाई श्रीमानको माया सम्झिएकी उसले आफुलाई रखैलको रुपमा राखेको अनुभव गर्छे। श्रीमानले दिएका अनेक चोट सहेकी भएपनि आफ्नो पेटमा हुर्किरहेको उसैको बच्चामाथि पनि शन्का गरेपछी उसले उसङ्गको सम्बन्धलाई बिचमै छोडेर आफुलाई प्रेम गर्ने फेरि अर्को व्यक्तिसङ्ग बिबाह बन्धनमा बाधिन पुग्छे। नया श्रीमानले प्रेम त गर्थ्यो तर आफ्नो प्रेमलाई प्रस्तुत गर्न नजान्दा उसको पुरुषत्वमा प्रश्न चिह्न सृजना गरिदिन्छ।सामलीलाई कुनै ग्राहकले जबर्जस्ति गर्न खोज्दा पनि ऊ अल्लाहको प्राथनामै लिन हुन्छ तर सामलीको मद्दत भने गर्दैन। त्यसपछि ऊ एकाएक हराउँछ।
सामलीले आफ्नो धन्दा यथावत नै राखिरहदा अनुसन्धानको लागि आएको एक व्यक्तिसङ्ग उसले साच्चिकै प्रेम गर्न थालेकी हुन्छे तर बिगतका अनेक चोट र भ्रमले गर्दा आफ्नो प्रेम स्वीकार गर्न नसकी प्रेमले दिएको आँट सङ्गै आफ्नो छोरीको भविष्यको चिन्ताले ऊ बस्ती छोडेर हिड्छे।
"नथिया" कस्को कथा होला? के यो कथा सामलीको मात्रै कथा हो त?
नथिया" सुन्दरताकै नाममा हुने नामको पनि बदनामको कथा हो। अप्सरा र गोपिनीलाई पनि उनीहरूको सुन्दरता र कलाको बयान गरेजस्तै गरेर युगौयुग देखि कथित उपल्लो दर्जामा रहेकाहरुले आफ्नो प्यास मेट्ने माध्यम बनाउदै आएको यथार्थको कथा हो। नारीलाई फूलको दायरामा उभाएर भमरा मात्रै नभई चरा र जनावर सहित अनेक प्राणीले भोग्ने, आनन्द लिने केवल एक वस्तु ठहर्याएको कथा हो। प्रेमको पनि कुनै बिन्दु हुन्छ भन्ने भ्रम सृजना गरेर यौनको चरम आनन्दमा मग्न हुने कलन्कहरुको कथा हो। श्रीमती बनाएर ल्याइसकेपछी श्रीमती र श्रीमतीपनमा रहेको भिन्नतालाई नजरअन्दाज गर्न नहुने पाठ सिकाउने कथा हो।
हात्तीको देखाउने दाँत भए जस्तै समाजमा देखिएर पनि आफ्नो अस्तित्व छ छैन भन्ने छुट्टाउन नसकेका बादीका छोरामान्छेहरुको कथा हो । मर्दामा होस कि पर्दामा मानिसले फलेको हाङ्गा नै रोज्ने गर्छ। चाहे त्यो आफ्नै कोखबाट जन्मिएको बच्चा नै किन नहोस? कमाउने भाँडो पो भाँडो अरु त सबै ...... भन्ने सत्य कति सामान्य छ भन्ने प्रस्तुत गरिएको बुधेको कथा हो।
गलत छ भन्ने थाहा हुँदाहुँदै पनि आफ्नै छोरीलाई बलात्कार गर्न चाजोपाजो मिलाउने र आफ्नै छोरी हो भन्ने थाहा पाइकन पनि संसर्ग गर्ने केवल नामका बाबुआमाको कथा हो।
पछुतोको आगोमा जलेरै भएपनी आफ्नो सन्तानप्रतिको मायाको लागि जोखिम मोल्न सक्ने बाबुआमाको कथा हो।
जति नै जलन, घृणा र झगडाले जरा गाडेको भएपनी आफ्नो दाजुबहिनीको अपमान र तिरस्कार सहन नसक्ने भाइबहिनीको कथा हो।
आफ्नै बिहेको रात पनि अरु कसैसँग सुहागरात मनाएको सपना देख्ने रत्नमानहरुको कथा हो।
कर्मले ठगेर जन्मिएको भएपनी सिकाईलाई महत्त्व दिदै कर्मलाई नै ठग्ने आँट बोकेर सयर गर्न निस्किने जयनेपालको कथा हो।
प्रेम र बिवाह आफैमा फरक रहेको चिजलाई एक बनाइकन त्यसमा प्रेमको अनुभुति गर्न नसकेपछि छट्पटी बोकेर भौतारिदै हिड्नेहरुको कथा हो।
समय र परिस्थितिले घेरिएपछी कुमार्गमा लागेर सबथोक पाएकाहरुले पनि गुमाएको, नरिवल जस्तै बाहिर हाड भएर पनि भित्र नरम र कमजोर भएका डनहरूकाे कथा हाे।
मस्तकमा चन्दन र तरेखु घसेर मानव र देवबिचको हुलाकी बनेको भ्रम पैदा गरेर हिडिरहेका, यथार्थसङ्ग आँखा जुधाउन नसक्ने ढोगी पन्डितहरुको कथा हो।
नीति नियम बनाउनेले पनि पदको कार्ड देखाएर सित्तैमा भोगेपछी भाटा हान्नेहरुको कथा हो। महिलालाई देहब्यापारमा बाध्य बनाएको पुरुषको कुनै पनि गल्ती नदेखी कोठामा रङ्गे हात समाउदा पनि केवल महिलालाई हिरासतमा लिने पुरुषत्व समाजको यथार्थ हो।
आफूमा आइलाग्ने हरेक दु:खलाई अन्कमाल गरेर हिडेपनी सन्तानको दु:खलाई सहन नसकेर बौलाएर हिडेका आमाहरूको कथा हो। सन्तानको भविस्यमा सुधार ल्याउन सबथोक गर्न तत्पर रहेको मातृप्रेम र आँटको कथा हो।
प्रेम भएर पनि प्रेम प्रस्तुत गर्ने नसकेर भित्रभित्रै खोक्रिँदै जाने, कर्म भन्दा बढी धर्मलाई बिश्वास गरेको जस्तो गरेर कमजोर बनेकाहरुको कथा हो।
आफ्नै प्रेममा शंका उपशंकाले सम्बन्धमा फाटो सृजना गर्ने प्रेम होइन मोहमा पल्किएकाहरुको कथा हो।
सांसारिक मोहको सिकार भएपछि सच्चा प्रेमलाई पनि स्वीकार गर्न डराएकी प्रेमिकाको कथा हो। सच्चा प्रेममा त्याग रोजेपछी पनि प्रेमले दिएको एक जुनुन र आँटको कथा हो।
अन्ततः यी सबै कथा अझ भनौं ब्यथालाई समेटेर एक दर्दनाक चित्कार लुकेको यो एक बदिनीको कथा हो। खुकुरीको अनेक चोटले टुक्राटुक्रा परेको अचानो पनि खुकुरीको बिँड बन्ने सामर्थ्य बोकेको कथा हो। कथित उचनिच भनिएका जातमा नचल्ने पानी तर चल्ने वीर्यको कथा हो। याे एक बिद्रोह र साधनाको उपज हो। नियति र चाहनाको बिचमा चलिरहेको द्वन्द्व हो। हिँसा, शोषण र यौन व्यापारको यथार्थ हो। बादीहरुको इतिहास र पौराणिक जन्मको कथा हो।
नथियामा बादी समुदायमा बोलिने भाषाशैलीलाई हुबहु प्रस्तुत गरिएको हुँदा सामली बादी आफैले कथा सुनाएको अनुभुत गर्न सकिन्छ।
Comments 0