चर्चा आरम्भ गरौं वैदिक देवताहरुका सम्बन्धमा बी.जी. रेलेको एक विचित्र मतबाट । सन् १९३१ मा प्रकाशित पुस्तक वैदिक गड्स् एज दि फिगर्स् अफ् बायोलोजीमा उनले प्रतिपादित गरेका छन् सबै वैदिक देवता मनुष्यका स्नायु संस्थानका विभिन्न चेतना केन्द्र तथा क्रियाहरूका प्रतीक हुन् । देवताको रूपमा जुन चेतनसत्तालाई वैदिक ऋषिहरूले कल्पना गरे त्यो मानव चेतनाको नै प्रतिरुप हो । यस चेतनाको अधिष्ठान स्नायु तन्त्र मस्तिष्क सुषुम्ना एवम् तन्त्रिकाहरू नै देवहरुको निवासस्थान हो । उनकै शब्दमा- मेरो यो दृढ विश्वास छ कि वेद स्नायु संस्थान एवम् तिनको कार्यप्रणाली सम्बन्धमा ऋषिहरूद्वारा लेखिएको पुस्तक हो । यी सबैलाई वैदिक ऋषिहरूले एक यस्तो भाषामा व्यक्त गरेका छन् जो तिनीहरूको निवासस्थानसँग सम्बन्धित प्राकृतिक दृश्यहरुबाट लिइएका रुपकहरू अथवा प्रतीकहरूले युक्त छ । यथा पिण्डे तथा ब्रह्माण्डे यस प्रसिद्ध भनाइझैं वैदिक ऋषिहरूले मस्तिष्कलाई सम्पूर्ण ब्रह्माण्डको लघु-प्रतिकृति सम्झिए ।
अतः उनीहरूले मस्तिष्कको विभिन्न विभागहरूसँग सम्बन्धित यी देवताहरूलाई बाह्य प्रकृतिका विभिन्न क्षेत्रसँग पनि संबद्ध गरेका छन् । वैदिक देवताहरूको यस्तो स्वरूपमाथि दृष्टि राखेर नै सम्भवतः प्रसिद्ध प्राचीन भारतीय भारतवर्षीय शल्यचिकित्सक सुश्रुतले भनेका छन् कि वेदमा वर्णित सबै देवताहरुको मानव शरीरमा स्थायी अस्तित्व छ । श्री रेलेले शरीर-शास्त्रसंबन्धी अनेक सूक्ष्म प्रमाणहरूका आधारमा यो सिद्ध गर्ने प्रयत्न गरेका छन् कि प्रमस्तिष्क नै इन्द्र हो । प्रमस्तिष्कको मध्य भागमा स्थित अनुभूतिको केन्द्र थ्यालेमस् नै अग्नि हो । लघु-मस्तिष्क पूषन् हो । मेडुला एवम् लघु-मस्तिष्कको समीपको पोन्स् नामक भाग रुद्र हो । सुषुम्ना विष्णु हो । प्रमस्तिष्कको दाहिने र बायाँ भागबाट आएर सुषुम्नामा प्रवेश गर्ने दुई स्नायु समूह अश्विनौ शब्दले बताइएका हुन् । स्नायुहरूको यी तीन समूह नै ऋभु नामले ऋग्वेदमा वर्णित गरिएका छन् । मस्तिष्क एवं सुषुम्नाको चारैतर्फ रहेका द्रव मित्र र वरुण मैत्रावरुण हुन् । रेलेले ऋग्वेदका अनेक ऋचाहरूको प्रमाण दिँदै यो पनि सिद्ध गरेका छन् कि रोदसी शब्दको अर्थ अन्य भाष्यकारहरूले अर्थ गरेजस्तो- पृथिवी एवम् आकाश होइन वस्तुतः यो शब्द प्रमस्तिष्कका दुई गोलाद्र्धको वाची हो । मुखमण्डलको मांसपेशीहरुलाई नियन्त्रित गर्ने एवम् त्यहाँबाट प्रमस्तिष्कसम्म सूचना लैजाने तन्त्रिकाहरूलाई मरुत् संज्ञा दिइएको हो । यिनीहरु गएर त्यो सेतु सँग मिल्दछन् जसलाई वैदिक भाषामा रुद्र नाम दिइएको छ । यसप्रकारले यी रुद्रका पुत्र हुन् । भ्रूण एवम् तत्पश्चात् शिशुको रुपमा विकसित हुनेवाला कोष नै हिरण्यगर्भ हो । आदि-आदि । वैदिक देवताहरूको सम्बन्धमा एक अन्य विचित्र मत श्री परमशिव अय्यरको रहेको छ ।
आफ्नो रिक्स नामक पुस्तकमा उनले प्रतिपादित गरेका छन् कि ऋग्वेदमा त्यस समयका घटनाहरूको उल्लेख छ जब पृथ्वीको जन्म भएकोमात्र थियो र पर्वतहरू नदीहरू तथा समुद्र आदिको भूतलमा क्रमशः निर्माण भइरहेको थियो । भूतलमा हुने विविध प्रकारका परिवर्तनहरूलाई नै वैदिक ऋषिहरूले ऋग्वेदको रुपमा उपनिबद्ध गरेका हुन् र संपूर्ण देवता भू-गर्भ विद्या सम्बन्धी दृश्यहरु का नै वाची हुन् । वेदमा वर्णित मरुद्गणको उत्पत्ति क्रियाहरू तथा रुपसँग समानता देखाउँदै उनले सिद्ध गरेका छन् कि मरुतहरूको गण पर्वतका उच्च शिखरमा जमेका हिम हिमयुक्त शिखर एवम् बरफिलो झंझावातलाई सूचित गर्दछ । मरुतहरूलाई रुद्रस्य सूनवः तथा पृश्निमातरः पृश्नि माता येषां भनिएको छ । पृश्नि कुन्तल मेघ सिरस हो जो सदा अग्ला पर्वत भन्दापनि माथि हावामा तैरिरहन्छ र कहिल्यै पृथिवीमा उत्रिँदैन । ब्राह्मण ग्रन्थहरूमा रुद्रलाई अग्नि भनिएको छ । वस्तुतः रुद्र अन्तरिक्षको अग्नि विद्युत् या तडित् हो । यसै तडित्को कारणले नै उच्च पर्वतीय शिखर तथा तीभन्दा माथिको वायुमण्डल विद्युन्मय हुन्छ र फलस्वरुप मेघको वाष्पसँगको संयोगबाट ती शिखरमा हिमकण जम्दछन् । मरुत् र रुद्रलाई अनेक औषधिहरूका स्वामी तथा रोग विनाशनमा निपुण बताइएको छ । वस्तुतः विद्युत्को आवेशले युक्त हिमयुक्त तीब्र झंझावात वायुमण्डलमा रहेका रोगोत्पादक कीटाणु एवम् अन्य हानिकारक तत्वहरूलाई नष्ट गरी वातावरणलाई शुद्ध बनाउँछ । साथै यस्तो झंझावात पश्चात् विविध प्रकारका औषधिहरूको पनि तीब्रताले वृद्धि हुन्छ । यस्तो झंझवात प्रायः अचानक पूर्व संकेतबिना नै आउँछ । अतः मरुत्हरूलाई विमान तथा अश्वहरूबिना नै विचरण गरेको वर्णित गरिएको छ । यस्ता अनेक मतहरू देखेर श्री गयाचरण त्रिपाठीले आफ्नो पुस्तक वैदिक देवता उद्भव और विकासमा भन्नुभएको छ- वैदिक मन्त्रहरूको दुरुहता एवम् अनेक प्रकारका अर्थहरूलाई व्यक्त गर्न सक्ने क्षमताले ऐना जस्तै निर्मल एवम् स्वच्छ वैदिक मन्त्रहरूमा हेर्ने जो कोहिले पनि तिनीहरूको पृष्ठभूमिमा स्थित रहस्यहरूलाई खोज्ने इच्छा गर्दछभने उसलाई तिनमा आफ्नै भावनाको प्रतिबिम्ब देखा पर्दछ । हुनसक्दछ प्रत्येकमा सत्यको केही केही अंश होओस् । वैदिक ज्ञान-विज्ञानको सम्बन्धमा अझसम्म हामी यति अधिक् प्रारम्भिक अवस्थामा छौं कि यस सम्बन्धमा प्रत्येक नवीन दृष्टिकोणहरूलाई हामीले स्वागत गर्नु पर्दछ । अस्तु ।
Comments 0