रामायणमा एकातिर भगवान् श्रीरामले एघार हजार वर्ष राज्य गरेको उल्लेख गर्नु अर्कातिर करिब करिब बाउन्न वर्षको घटनाक्रमको मात्र विस्तृत चर्चा छ । यसको के रहस्य छ ? यसमा गूढ रहस्य छ । म उदाहरणबाट यसलाई प्रष्ट्याउन चाहूँला । कुनै दुईवटा गाउँ छन् जसमध्ये एउटा गाउँमा दोहोरो भीडन्त भई मान्छेहरु मारिए र अर्कोमाचाहिँ सबैजना मिलेर खेत रोपी थाकेका हुनाले आरामसँग सुतेभने भोलीपल्ट साचारमाध्यमहरुले कुन गाउँको चर्चा गर्लान् ? पक्कैपनि त्यही गाउँको चर्चा गर्छन् जहाँ मान्छेहरु मारिए । हामीले देखेजानेकै कुरा हो यो कि विश्वमा ती ती देश वा क्षेत्र चर्चामा हुन्छन् जहाँ जहाँ अशान्ति छ, हिंसा छ । तर ती ती देश वा क्षेत्र समाचार बन्दैनन् जहाँ शान्ति छ अमनचैन छ ।
यो त मान्छेको शाश्वत प्रवृत्ति हो कि केही अस्वाभाविक वा अनौठो वा विशेष कुरालाई नै ऊ महत्व दिन्छ । भगवान् श्रीरामको जीवनवृत्तका संदर्भमा पनि यो लागू भएको छ र रामायणमा ती ती प्रसंगहरु नै खासगरी वर्णन गरिएकाछन् जसमाकि लोक आकर्षण छ र काव्यिक चमत्कार देखाउने ठाउँ छ । अर्थात् जुन सनसनीपूर्ण अस्वाभाविक अनौठो छ त्यसको बयान गर्नमा रुचि देखाइएको छ त्यहाँ । रामले रावणलाई संहार गरेको कुरामा जुन रोचकता छ, काव्यिक चमत्कार देखाउने जुन मौका छ, रामराज्यमा प्रजा सुखी थिए भन्नमा कहाँ छ ? सुखी थिए त कुरा सकिइहाल्यो नि ! रामले वानर र भालुलाई लिएर लडाइँ पो कसरी गरे हुनन् वा हनुमानले समुद्र कसरी तरे ? यो पो छ उत्सुकताको कुरा । श्रीरामको पाउ पर्नासाथ एउटा ढुंगा मान्छेमा रुपान्तरित भई अहल्या उद्धार भएको कुरामा जुन कौतुकता छ, रामराज्यमा सर्वत्र शान्ति थियो भन्ने कुरामा भेट्टाउँदैन मान्छेले । शान्ति थियो त थियो ! त्यसको पनि के बयान ? हो, यही मानवीय स्वभावका कारण रामायणमा करिब बाउन्नवर्षे जीवनप्रसंग नै विशेष बयान गरिएको हो भन्ने बुझ्न सकिन्छ । पछि त श्रीरामको जिन्दगी साथै सारा रामराज्य नै सुख शान्ति आनन्दमय भएकोहुँदा काव्यिक चमत्कारी देखाउने कुरै कहाँ रह्यो र ! मदिराको स्वादको बयान गरिएका सयौं कविता भेटिन्छन् तर पानीको स्वाद बयान गरिएका कविताहरु खोइ त ? यी कुराहरुले प्रष्ट हुन सकिन्छ कि रामायणमा करिब बाउन्न वर्षकोमात्रै विशेष बयान गरिएको भए तापनि रामराज्य चाहिँ पुराकापुरा एघार हजार वर्ष चलेको थियो भनेर मान्न नसकिने होइन सकिन्छ । तर हामीले हेक्का राख्नैपर्छकि भगवान् श्रीरामलाई मर्यादापुरुषोत्तम भनिएको तथा रामराज्यलाई वास्तविक साम्यवादको कसी एवं आदर्श शासनप्रणाली मानिएको यसकारणले होइनकि उहाँले रावणलाई संहार गर्नुभयो र अरु पनि अनेकौं निशाचर राक्षसहरुलाई मारिदिनुभयो । विजयी शासक भएकै कारणलेमात्र उहाँको बखान गरिएको हो ? होइन । मार्ने काट्ने जस्ता कार्य त्यत्रो सुयशका कार्य होइनन् ।
भगवान् श्रीरामलाई सम्मान गर्नुको कारणलाई सही तवरमा बुझ्नु जरुरी छ । रावणबधपश्चात् उहाँले कहिल्यै शस्त्रास्त्र उठाउनुभएको पाइँदैन । रावणबध अघि उहाँले ती आततायीहरुलाई सफाया गर्नु भएको थियो जो समाजका निम्ति खिल वा ट्युमर थिए । क्यान्सरको उपचार गर्दा ट्युमर काटेकोमा डाक्टरलाई गाली गर्न मिल्दैन । रावणबधपश्चात् श्रीरामले उसका जीवित अनुयायीहरुलाई बलपूर्वक होइन, आत्मिक रुपान्तरण अथवा भावनात्मक परिवर्तन बाट तिनीहरुलाई आफ्ना अनुयायी बनाउनुभयो ।
तब के भयो ? संसारभरि शान्ति, सुव्यवस्था कायम भयो, शोक-सन्ताप मेटिएर सबै सुखी भए । भोक, रोग, भय आदिबाट समाज मुक्त भयो । त्यहाँ कोही दरिद्र थिएन । सबकासब समृद्ध ! सहृदयता अर्थतन्त्रमा भनिएकोझैँ आधारभूत समृद्धि सबैका लागि थियो रामराज्यमा भन्ठान्छु ।
रामराज्यमा आफ्नो कर्तव्य पालन गर्नबाट कोही च्यूत थिएन । चोरी, ठगी, गुण्डागर्दीको समस्या थिएन रामराज्यमा । मान्छेमा इमान्दारी यति थियो कि तालाचाबीको प्रचलन नै थिएन । राज्यलाई प्रहरी र सेनाको बलमा चलाइएको थिएन । स्थापित नैतिक मूल्यमान्यता ले निर्देशित भएर समाज गतिशील थियो । सबै गुणवान् थिए, सबै शिक्षित थिए र कसैको कसैप्रति द्रोह वैरभाव थिएन । कोही धनी र कोही गरिब हुने अहिलेकोजस्तो अन्यायपूर्ण स्थिति थिएन रामराज्यमा । कुनै विषमता थिएन । एक राजघाट थियो जहाँ भगवान् राम देखि लिएर ऋषिवर वशिष्ठ अनि ब्राह्मण, क्षत्रिय, वैश्य, शुद्र एकसाथ स्नान गर्दथे । मजदुर पनि थिए, किसान पनि थिए, कर्मचारी पनि थिए, तर यो विभाजन कामकालागिमात्र थियो । एउटा मजदुरले पनि त्यत्तिकै मान पाउँथ्यो जतिकि एउटा उच्चपदस्थ अधिकारीले । एउटा शुद्र पनि त्यत्तिकै संमानित थियो जतिकि एउटा ब्राह्मण । प्रत्येक मजदुर, प्रत्येक किसान उत्तिनै धनी थियो जतिकि महाराजाधिराज श्रीराम ।
रामराज्यमा समानता व्यवहारमै लागू भएको थियो । रामराज्य त सफलतापूर्वक एघार हजार वर्ष सञ्चालित भइसकेको बताएको छ रामायणले । एकचोटी सफलतापूर्वक सञ्चालित भइसकेको रामराज्यलाई राजनीतिक व्यवस्थाको आदर्श (प्रतिमान) मान्नु स्वाभाविक हो । साथै, रामराज्यलाई वर्तमान दृष्टिबिन्दुबाट स्थितिगत्यात्मक विश्लेषण गर्नुपर्छ भन्नेमा पनि जोड दिनुपर्छ ।
Comments 0