वास्तवमा यज्ञ शब्दले व्यापक अर्थ प्रदान गर्दछ र यसका विविध स्वरूप छन् । यस कुरामा प्रष्ट हुनकालागि मनुस्मृतिको सन्दर्भ उपयोगी हुनेछ । मनुस्मृतिमा वेदाध्ययनलाई ब्रह्मयज्ञ, तर्पणलाई पितृयज्ञ, होमलाई देवयज्ञ, अतिथि सन्तर्पणलाई मनुष्ययज्ञ भनिएका उदाहरणबाट स्पष्ट हुन्छकि मानव जीवनका सबै महत्वपूर्ण कर्तव्यहरूलाई यज्ञ नामले बुझाइएको छ । मीमांसादर्शनले पनि यही कुरा आत्मसात् गरेको हामी पाउँछौं । गीताको "सहयज्ञाः प्रजाः सृष्ट्वा .." वाला श्लोकको तात्पर्य यही होकि प्रजाको प्रगति र कल्याणका सबै कार्य यज्ञरूप हुन् । चाहे ऋत्विजहरूद्वारा अग्निहोत्रका रुपमा गरियोस् अथवा दैनिक जीवन-निर्वाहका क्रममा कर्तव्यपालनका रूपमा गरियोस् यी सबै कार्य यज्ञ हुन् ।